सर्लाहीको नवलपुरमा एक सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास असफल

   २४ पुष २०७९, आईतवार २०:२९  

सर्लाही, २४ पुस । सर्लाहीको नवलपुर स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण प्रयास असफल भएको छ भने स्थानीयहरुले एक जना अपहरणकारीलाई पक्राउ गर्न सफल भएका छन् ।
नवलपुरको बसपार्क देखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका –१ का गुड्डु साहलाई अपहरणको प्रयास गर्ने असफल प्रयास भएको बताइएका हुन् ।
अपहरणकारी मध्ये १ जनालाई स्थानीयहरुको मद्दतबाट नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै सर्लाहीका एसपी नरेशराज सुवेदीले साँझ ६ बजेको समयमा कार चढेर आएका केही व्यक्तिहरुले उनलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै हो हल्ला एवं प्रतिकार गरेर स्थानीयले एक जनालाई नियन्त्रणमा लिन सफल भएको बताए ।
पक्राउ परेका व्यक्तिलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरको हिरासतकक्षमा राखेर अनुसन्धान भईरहेको तथा गाडी सहित फरार भएका व्यक्तिको खोजतलास जारी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै