बौधिमाई नगरपालिकामा राजनीतिक कलहको शिकार बन्दै विकास निर्माण तथा दिवा खाजा

   २५ पुष २०७९, सोमबार १३:४७  

रौतहट, २५ पुस । आर्थिक बर्षको ६ महिना बितिसक्दा पनि रौतहटको बौधिमाई नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷८० को बजेट ल्याउन नसक्दा नगरको विकास निमार्ण, कर्मचारीको तलव भत्ताको साथै सामुदायिक विद्यालयको दिवाखाजा प्रभावित बनेका छन् । चरम राजनीतिक कलहको कारण नगरको विकास निर्माण लगायतका कार्यहरु प्रभावित बन्दै गएका हुन् ।
चालु आर्थिक बर्ष २०७९÷८० को ६ महिना बितिसक्दा पनि नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निमार्णका कार्य, विद्यालयमा सञ्चालन हुने दिवाखाजा तथा कर्मचारीहरुलाई वितरण गरिने तलब भत्ता प्रभावित बनेपछि बौधिमाई नगरपालिकाको कामकाज लथालिंग बनेका हुन् ।
नगरपालिकाको विभिन्न समिति तथा उपसमिति गठन प्रकृयामा कार्यपालिका सदस्यहरुबीच विवाद बढदै गएर नगर सभा नहुँदा बजेट रोकिएको श्रोतले बताए । पटक पटक कार्यपालिका सदस्यहरुको बैठक बसेको भएपनि नगरसभा गरेर बजेट ल्याउन पक्ष विपक्ष बीच विवाद उत्पन्न हुँदा नगर सभा कहिले गर्ने विषयमा अन्यौलता सृजना भएको छ ।
पछिल्लो पटक कार्यपालिका सदस्य सहित नगरपालिकाका निर्वाचित जनप्रतिनिधीहरुले लाखौं खर्चेर चार दिनसम्म धुमधाम गर्दे रमाइलो गरेर फर्केपनि विवाद कायमै रहेको ति श्रोतले जनाएको छ । गत बैशाखमा स्थानीय तहको सम्पन्न निर्वाचन पश्चात असार १० गते नगरसभा हुनु भन्दा अघि ८ पटकसम्म कार्यपालिकाको बैठक बसेको तथा हालसम्म करिब कंयौंै पटकसम्म कार्यपालिकाको बैठक बसेको भएपनि काम हुन नसकेको नगरपालिकाले जनाएको छ ।
बैठकमा आर्थिक समिति, पूर्वाधार विकास समिति लगायत पाँच वटा मूल समिति र सात वटा उपसमिति गठन प्रक्रियामा कार्यपालिका सदस्यबिच मतभेद उत्पन्न हुँदा नगरसभा प्रभावित बनेको निमित्त प्रशासकीय अधिकृत रामेश्वर राय यादवले गुनासो गरे । नगरपालिकाले बजेट ल्याउन नसक्दा विकास निमार्ण, तलब भत्ता, विद्यालयहरुमा सञ्चालन हुने दिवा खाजा लगायतका धेरै जसो कार्य प्रभावित बनेकोले उनले जानकारी दिए ।
यता ६ महिना देखि बजेट सञ्चालन नहुँदा उधारोमा सञ्चालन हुँदै आएको दिवाखाजा अहिले प्रभावित बनेको शिक्षकहरुको गुनासो रहेको छ । उधारोमा खाद्यान्न पाउँदै आएको थिए सरमुजवा स्थित श्री माध्यमिक विद्यालयका एक शिक्षकले भने अहिले खाद्यान्न पाउन सकेका छैनौं । जसोतसो दिवाखाजा सञ्चालन गर्दे आएपनि अहिले विद्यार्थीहरुलाई दिवाखाजा खुवाउन नसकेको उनले जानकारी दिए ।
यता शिक्षकहरुले समेत तलब भत्ता पाउन नसकेको कारण पठ्नपाठ्न समेत प्रभावित बन्दै गएको अर्का शिक्षक रामएकवाल यादवले भने शिक्षकहरुले रकम नपाउँदा कतिदिनसम्म बिना रकमको अध्यापन गराउनु पर्छ कुनै ठेगान नरहेको कारण शिक्षकहरु पनि मनपरी ढंगबाट विद्यालय आउने र जाने गरेका अवस्था रहेका छन् ।
संघ र प्रदेशको निर्वाचन पश्चात पाँच पटकसम्म बसेको बैठकमा पालिकाका सबै सदस्य साकारात्मक देखिएकोले केही दिनभित्र नगरसभा बस्न पत्राचार गरिने नगर प्रमुख प्रदीपकुमार यादवले बताए । बजेट पारित हुनेमा आफु विश्वस्त रहेको छु प्रमुख यादवले भने वार्षिक बजेट नआउँदा पालिकामा विकास निमार्णका साथै तलबभत्ता, दिवाखाजा प्रभावित बनेको स्वीकार्य गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै