चीनका हेनान प्रान्तमा ९० प्रतिशत जनसंख्या कोरोना संक्रमित

   २८ पुष २०७९, बिहीबार १४:०१  

बेइजिंग, एजेन्सी । कोरोना भाइरसको मार खेपिरहेका चीनको हेनान प्रान्तको ९० प्रतिशत मानिसहरु संक्रमित भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुको रीपोर्टमा उल्लेख गरिएको छ ।
चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोरोना भाइरस (कोभिड १९) संक्रमित भएका छन् ।
स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस कोरोना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् । गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे पछि यता चीनमा कोरोना संक्रमितको संख्यामा अप्रत्याशित रुपमा बृद्धि भइरहेको छ ।
सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोरोना संक्रमण दर बढेको हो । चीनले ३ वर्षपछि पहिलो पटक गत आइतबारदेखि विश्वका लागि आफ्ना सम्पूर्ण सीमाना खुला गरेको छ । जसका कारण अन्य देशहरुमा पनि कोरोना संक्रमण बढ्ने आशंका गरिएको छ ।
लाखौं चिनियाँ नागरिकहरु विदेश भ्रमणको तयारीमा रहेकाले चीनमा फैलिएको पछिल्लो भेरियन्ट अन्यत्र पुग्ने त्रास समेत बढेको छ । एएफपी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै