रौतहट, २८ पुस । नेपाल प्रहरीको सातै प्रदेशका प्रहरी प्रमुख प्रहरी फेरिएको छ, मधेश प्रदेशको जिम्मेवारी बसन्तबहादुर कुँवरले पाएका छन् ।
सातै प्रदेश प्रमुख सहित नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएका हुन् ।
बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा काज सरुवा गरिएको छ । कर्णाली प्रदेशका प्रमुख पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पठाइएका छन् ।
प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा दिएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएको छ । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाए ।
प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणालाई खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरीलाइ पदस्थापन गरिएको छ ।