रौतहट, २९ पुस । रौतहटको गुजरा र कटहरिया नगरपालिकालाई जोड्ने निर्माणाधिन पुल निर्धारित समय सिमा भित्र बन्न नसक्दा सर्वसाधारण जनताहरुलाई सास्ती खेप्नु परेको छ । विगत चार वर्ष देखि निमार्ण भईरहेको पुलको निर्माण कार्य पुरा नहुदा स्थानीय बासिन्दाहरुलाई निकै सास्ती खेप्नु परेको हो ।
रौतहटको गुजरा नगरपालिकाको खतबहिया कटहरीया जोडने सडक खण्डमा पुल निमाणाधिन पुलको बन्दा स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न निकै कठिनाई भईरहेको स्थानीयहरुले बताए ।
दैनिक सयौंको संख्यामा सवारीसाधनहरु आवतजावत गर्ने सडकमा पुल निमार्ण नहुँदा दुई किलोमिटर लामो बाटो भएर दैनिक आवतजावत गर्ने गरेका छन । सुख्खा मौसममा पुल नजिकैको बाँसको लच्का निमार्ण गरेर आवतजावतका लागि सर्वसाधारणहरुले बाटो प्रयोग गर्दे आएका छन भने वर्षातको बेला दुई किलोमिटर टाढाको बाटो रोजेर गन्तव्य स्थानसम्म पुग्ने गरेको स्थानीय प्रल्हाद साहले बताए ।
गुजरा नगरपालिका वडा नम्बर ६ खतबहिरा टोल र कटहरिया नगरपालिका २ छेदी चौक बजार जोड्ने मुख्य सडकमा निमार्णाधिन पक्की पुल ठेकेदारको लापरवाहीका कारण विगत चार वर्ष अहिले अलपत्र अवस्थामा रहेको स्थानीय बासिन्दारुले गुनासो गरेका छन् ।
पुलको निमार्ण कार्य दुई वर्ष ३ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का लिएको निर्माण व्यवसायीले विभिन्न बहाना बनाई हालसम्म निमार्ण कार्य अधुरो राखेका छन् । पुल निमार्ण नहुँदा खासगरी खेतीपातीमा व्यस्त रहेका किसानहरुलाई समस्या परेका छन् । किसानहरुले दैनिक रुपमा आवतजावत गरी उँखु, धान, गहुँ, मकै लगायतका कृषि कार्यका लागि चर्को भाडा तिरेर लामो बाटो रोज्नु परेको छ ।
तत्कालिन भौतिक तथा योजना मंत्री रधुविर महासेठद्धारा आर्थिक वर्ष २०७५÷०७६ मा २७ महिना भित्र पुल निमार्णका लागि शिलान्यास गरेका थिए । ९ करोडको लागतमा दुई चरणमा निमार्ण गर्ने सम्झौता लिएका मौलापुर नगरपालिका ९ सोनरनियाका पेटी ठेकेदार आश महम्मदले हालसम्म ४० प्रतिशत मात्र कार्य सम्पन्न गरी बेपत्ता भएको कारण पुल निमार्ण अलपत्र अवस्थामा पुगेको छ ।