कोभिड १९ बाट १ महिनामा ६० हजार नागरिकको मृत्यु पछि डब्लुएचओले चीन संग माग्यो रिपोर्ट

   १ माघ २०७९, आईतवार ०९:०९  

बेइजिंग, एजेन्सी । कोभिड १९ को संक्रमणबाट चीनमा गत एक महिनामा ६० हजार नागरिकको मृत्यु भएपछि विश्व विश्व स्वास्थ्य संगठनले चीन संग रिपोर्ट माग गरेका छन् ।
चिनियाँ सरकारले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण भएको रिपोर्ट गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँग रिपोर्ट माग गरेका हुन् ।
‘डाक्टर टेड्रोसले चीनको गहिरो सहयोग र पारदर्शिताको महत्वलाई दोहोर्याए’, डब्लूएचओ को विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि चीनमा पछिल्लो एक महिनामा कोभिड संक्रमण समस्याका कारण झण्डै ६० हजार जनाको मृत्यु भएको चीनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) अन्तर्गतको चिकित्सा प्रशासन व्युरोका प्रमुख जियाओ याहुईले जानकारी दिएका थिए ।
उनका अनुसार ५ हजार ५०३ जनाको मृत्यु कोभिडका कारण श्वासप्रश्वास सम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिड सँग जोडिएका अन्य रोगका कारण भएको हो । सरकारले डिसेम्बरको सुरुमा शून्य कोभिड नीतिमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसपछि दिनहँु हजारौँ जना कोभिड संक्रमित हुन थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै