तराई टप संवाददाता
पर्सा, ९ वैशाख । वीरगञ्जको नारायणी अस्पतालमा उपचारार्थ एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
विगत पाँच दिनदेख अस्पतालमा उपचार गराइरहेकी ६१ वर्षीय महिलाको संक्रमणका कारण मृत्यु भएको हो । उनको विहिवार बिहान सवा १ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकरी दिए । मृतक महिला वीरगञ्ज नर्सिङ क्याम्पसमा कार्यरत रहेको अस्पताल स्रोतले जनाएको छ । स्रोत अनुसार उनी नर्सिङ क्याम्पसमा भान्सेको रुपमा कार्यरत थिइन । यदपी यसको आधिकारीक पुष्टि हुन् बाकि छ ।
बैशाख ३ गते कोरोना पुष्टि भएकी उनलाई ५ गते अस्पताल भर्ना गरिएको थियो । कडा किसिमको निमोनियासहित उनलाई श्वासप्रश्वासमा समेत समस्या भएपछि अस्पताल भर्ना गरिएको डा. दासले बताए ।
डा. दास अनुसार महिलालाई अस्पतालस्थित कोभिड अईसियूमा अक्सिजन सपोर्टमा राखेर उपचार गर्दागर्दै मृत्यु भयो । चैतको अन्तिम साता देखि पर्सामा बढ्दो कोरोनाका कारण अहिलेसम्म ७ जनाले आफ्नो ज्यान गुमईसकेका छन् भने ३ सय भन्दाबढी संक्रमित भएका छन् ।