माघे संक्रान्ति देशभरी धुमधामका साथ आज मनाइदै

138 Shares

रौतहट, १ माघ । आज माघे संक्रान्ति पर्व देशभरी धुमधामका साथ मनाइँदैछ । खासगरी थारु, मगर, मधेशी समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले देशभरी नै मनाउने गरिन्छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
पर्वका अवसरमा देशभरीका काठमाडौं सहित विभिन्न स्थानमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । स्थान पश्चात दानपुण्य गरेर तिलको लड्डु, चुराको लाई, दहि चिउरा खाएर यो पर्व मनाउने गरेको छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार