कोरोना संक्रमणको प्रकोप जारी, चीनमा समाधिस्थल र शवदाह गृहमा मानिसहरुको ठूलो भिड

132 Shares

बेइजिंग, एजेन्सी । कोभिड–१९ को चरम प्रकोप झेल्दै आएको चीनमा समाधिस्थल र शवदाह गृहमा मानिसहरुको ठूलो भिडभाड देखिएका छन् ।
भू उपग्रहले लिएका तस्वीरमा चीनका मुख्य सहरमा रहेका दाहसंस्कार गर्ने समाधिस्थल र शवदाहगृहमा मानिसहरुको ठूलो भिडभाड लागेको दृष्यहरु देखिएका हुन् ।
अमेरिकी अखबार वाशिंटन पोस्टका अनुसार चीनको बेइजिङ, चेङ्दु, कुन्मिङ, नानजिङ जस्ता सहरमा अन्तिम संस्कार गर्ने स्थानमा भिडभाड देखिएको हो । यसअघि चेङ्दु सहरमा रहेको एउटा शवदाहगृहले भिडभाडका कारण हरेक परिवारलाई मृतकको अन्तिम संस्कार गर्न केबल २ मिनेटको समय दिने गरेको समाचार सार्वजनिक भएको थियो ।
नका केही स्थानमा रहेका शवदाहगृहमा मानिसहरुको चाप बढेपछि अन्तिम संस्कार गर्न लाग्ने शुल्क पनि बढेर ३ सय डलरसम्म पुगेको बताइएको छ । अमेरिकी भू उपग्रह कम्पनी मक्सार टेक्निोलोजीले जारी गरेको तस्वीरमा शवदाहगृहमा मानिसहरुको गतिविधि पछिल्लो समय ह्वात्तै बढेको देख्न सकिन्छ । यसबाहेक समाधिस्थलमा काम गर्ने कर्मचारीहरुले पनि सामाजिक सञ्जालमा आफ्नो कार्यस्थलमा मानिसहरुको गतिविधि ह्वात्तै बढेको जनाएका छन् ।
पछिल्लो समय चीनले कठोर शून्य कोभिड नीति खुकुलो पारेपछि त्यहाँ कोरोना भाइरसको प्रकोप बढेको बताइएको छ । यद्यपि चीनले भने यस प्रकोपबाट मृत्यु भएका मानिसहरुको भरपर्दो तथ्यांक सार्वजनिक गर्ने गरेको छैन । यसअघि विश्व स्वास्थ्य संगठनले चीनलाई कोरोना प्रकोपबारे विश्वासिलो तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको थियो । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार