अनमोल केसीको फिल्म ‘एक्स नाइन ः लेभल वान’

   ६ माघ २०७९, शुक्रबार १४:०७  

काठमाडौं, ६ माघ । अभिनेता अनमोल केसीको फिल्म ‘एक्स नाइन ः लेभल वान’बाट बाहिरिएको छ । निर्धारित समयमा छायांकन सुरु हुन नसकेका कारण आफूले फिल्म गर्न नसक्ने बताए ।
‘उहाँहरु २०२१ को अक्टोबरमै सुटिङमा जानुपर्ने थियो । अहिलेसम्म पनि छायांकन सुरु गर्न सक्नुभएन । मैले अन्य प्रोजेक्टहरु पनि गर्नुपर्ने हुन्छ ।
त्यही कारण मैले उक्त फिल्म छाडेको छु,’ अनमोलले भने, सम्झौता त एक वर्षअघि नै सकिएको थियो । सुटिङ पनि सरेको सर्यै भयो । फेरि पनि जाने सम्भावना देखिएन ।
आर्थिक अभावको कारण छायांकन सुरु हुन ढिलाइ भएको जानकारी निर्माताले आफूलाई गराएको समेत अनमोलले बताए । ‘उहाँहरुलाई कुर्दा मैले छड्के २ र जेरी २ गर्नुपर्ने थियो । मैले अन्य प्रोजेक्ट पनि गर्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘यसपटक साइनिङ अमाउन्ट नै फिर्ता गरेको छु ।’
मुकुन्द भट्टले निर्देशन गर्ने भनिएको उक्त फिल्मलाई क्यानडा र अष्ट्रेलियामा छायांकन गर्ने बताइएको थियो । अनमोलसहित पछिल्लो समय चलेका कलाकारलाई समेत अनुबन्धित गरिएको थियो ।
अनमोल यतिबेला ‘छड्के २’को स्वरांकनमा व्यस्त छन् । चाँडै ‘जेरी २’मा उनी व्यस्त हुनेछन् । त्यसपछि होमप्रोडक्सन फिल्म ‘पारस’ वा ‘माइतीघर २’मध्ये एक फिल्ममा उनी व्यस्त हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै