विवादास्पद नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ पुष्टि

   ८ माघ २०७९, आईतवार १५:४९  

काठमाडौं, ८ माघ । विवादास्पद नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको हो । खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ ।
उनका अनुसार सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको थियो । ‘क्रिकेटमा खेल नै फिक्सिङ गर्न गाह्रो विषय हो, यद्यपि म्याच नै फिक्सिङ गर्ने प्रयास समेत भएको देखियो’, उनले भने ।
फिक्सिङका लागि आफ्नो खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइटसका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो ।
प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।
प्रतियोगिताभर खेल मैदानमा ‘वान एक्स ब्याट’को मात्रै विज्ञापन थियो । यसलाई अनलाइन पोर्टल भनिए यसको नाम सट्टेबाजीका लागि चर्चित वेवसाइट ‘वान एक्स वेट’सँग मिल्दोजुल्दो छ ।
‘वान एक्स वेट प्रतिबन्धित भएकाले वान एक्स ब्याटका नामबाट प्रचार गरिएको हो’, प्रहरी अधिकृतहरु भन्छन्, ‘सुरुवाती दिनमा वान एक्स ब्याट क्लिक गर्दा पनि वान एक्स बेटमा जाने बनाइएको थियो ।’
खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए । तीमध्ये चार जना विदेशी र तीन जना नेपाली खेलाडीलाई शंकाको मुख्य घेरामा प्रहरीले राखेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै