तराई टप संवाददाता
काठमाडौं, ११ वैशाख । झण्डै ६ बर्ष अघि आएको विनाशकारी भूकम्पको पराकम्पनबाट क्षतविक्षत अवस्थामा पुगेका ९ तल्ले धरहरा पुनह निर्माण भएर ठडिएको छ ।
२०७२ साल वैशाख १२ गते शक्तिशाली भुकम्पमा परेर एतिहासिक धरोहर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । सोही एतिहासिक धरोहरलाई संरक्षण एवं सम्बर्धन गर्ने महा अभियानमा नेपाल सरकारले पुन निर्माणको कार्य सम्पन्न गराए भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर सर्वसाधारणको कौतुहल्ताको विषय सकिएको छ ।
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले घरघरमा साँझ दीपावली गर्न आव्हान गरे । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो,’ प्रधानमन्त्री ओलीले पहिलो प्रतिक्रिया दिए ।
बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि सर्वसाधारणका लागि यो तत्काल खुला हुनेछैन । धराहरा निर्माण भएपनि अरु संरचना निर्माण भइरहेको हुँदा अहिलेलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङ स्थल लगायत संरचना निर्माणको कार्य सम्पन्न भएपछि मात्रै सर्वधारणको लागि खुला गरिने छ ।