जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्ड

   १० माघ २०७९, मंगलवार १६:१८  

कपिलवस्तु, १० माघ । सेवाग्राहीलाई छिटो छरितो सेवा दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ ।
सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको हो ।
माघ ९ गते लागू हुने गरी जारी गरिएको टाइम कार्डले सेवा प्रवाहमा समसामयिक एवं प्रभावकारी बनाउन सकिने जिल्ला प्रशासन कार्यालयको विश्वास छ । प्रशासनका अनुसार नयाँ नागरिकताका प्राप्तिका लागि दिउँसो १२ बजे प्रमाण पुर्याएर पेस हुन आएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजे भित्र पेस हुन आएका निवेदकलाई अपराह्न ४ बजे नागरिकता दिइने छ ।
नागरिकताको प्रतिलिपिका लागि दुई घण्टा भित्रै सेवा दिइने छ । ई–पासपोर्ट टोकन प्रणाली अनुसार सार्वजनिक बिदा र शाखाको कार्य बोझ बाहेक प्रत्येक दिन ३ बजे देखि ४ बजेसम्म सेवा लिन सकिने प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।
जिल्ला प्रशासनले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सेवा लिन लाइनमा बस्न नपर्ने समेत विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै