अफगानिस्तानबाट बहुमूल्य पत्थलको तस्करीमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

   १० माघ २०७९, मंगलवार १६:५०  

काबुल, एजेन्सी । अफगानिस्तानमा तस्करी गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
तस्करी गरेको आरोपमा शासन व्यवस्था चलाइरहेको तालिबानले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेका हुन् ।
एक हजार मेट्रिक टन लिथियम युक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ नागरिकले अफगानिस्तानबाट अफगान सहयोगीहरू मार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थरको तस्करी गर्ने प्रयास गरेका तालिवानी अधिकारीहरुले बताएको छ । बहुमूल्य पत्थर सँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादबाट पक्राउ गरिएको छ ।
स्रोतका अनुसार बरामद भएका पत्थरमा ३० प्रतिशत सम्म लिथियम पाइन्छ । पाकिस्तान सँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ । चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिबानन गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ ।
गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तान बीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न निर्देशन दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै