अफगान नागरिकलाई पक्राउ नगर्न पाकिस्तानी सरकार समक्ष अफगान कुटनीतिज्ञको अपिल

   १० माघ २०७९, मंगलवार १६:५८  

काबुल, एजेन्सी । एक जना अफगान कूटनीतिज्ञले पाकिस्तानमा रहेका अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको अफगान राजदूतावासका सहचारी सरदार अहमद शकिबले पाकिस्तान सरकार समक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न माग गरेका हुन् ।
शकिबलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्युजले जनाए अनुसार पाकिस्तानमा १ हजार भन्दा धेरै अफगान नागरिक पक्राउ परेका छन् । पछिल्लो समय अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीच सम्बन्ध बिग्रिँदै जाँदा पाकिस्तानमा बसोबास गर्दै आएका अफगान नागरिक पक्राउ हुने क्रम तीव्र गतिमा बढेको बताइएको छ ।
‘१०५० अफगान नागरिकहरु पाकिस्तानको जेलमा छन् र उनीहरुलाई रिहा गर्ने प्रक्रिया अघि बढेको छ । हामी पाकिस्तान सरकार समक्ष अफगान नागरिकलाई पक्राउ गर्ने कार्य तत्काल रोक्न आह्वान गर्दछौँ ।’ शकिबलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ ।
पाकिस्तानी जेलमा रहेका अफगान नागरिकका आफन्तले जेलको अवस्था अत्यन्त खराब रहेको बताउने गरेका छन् । पिस फर एसिया नामक संस्थाका अनुसार पाकिस्तानमा अवैधानिक रुपमा बसोबास गर्दै आएका धेरै अफगान नागरिकहरु पक्राउ पर्ने गरेका छन् ।
उनीहरुलाई निष्कासन गर्ने प्रक्रिया लामो र झन्झटिलो भएका कारण धेरै अफगान आप्रवासीको कानूनी प्रक्रिया अदालतमा विचाराधीन रहेका छन् । रोयटर्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै