प्रहरीकै सहयोगमा लागु औषध एवं अबैध हातहतियारको कारोवार हुदै आएको पुष्टि

   १२ बैशाख २०७८, आईतवार १४:४८  

तराई टप संवाददाता
पर्सा, १२ बैशाख । पर्सा प्रहरीले अवैध हातहतियार र लागूऔषध ओसारपार तथा लुटपाटमा संलग्न गिरोहलाई पक्राउ गरेको छ भने उक्त गिरोहमा प्रहरीकै संलग्नतामा संचालन भईरहेको प्रमाणित भएका छन् ।
पक्राउ परेको गिरोहले लागुऔषध तथा हातहतियार कारोबारीलाई भारतको रक्सौल लगेर लागुऔषध र हातहतियार खरिद गराउने र पछि वीरगञ्ज ल्याएर लुट्ने गरेको रहस्य खुलेका हुन् । उक्त कार्यमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एकजना प्रहरी जवानले उनिहरुलाई सहयोग गर्दै आएको प्रमाणित भएको छ ।
पर्सा प्रहरीले बैशाख ८ गते बुधबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ निवासी २५ वर्षीय राजु राना मगरलाई अवैध हतियारसहित पक्राउ गरेपछि घटना बाहिरिएको हो । गिरोहले मगरलाई पनि केहि दिन अगाडी लुटेको रहेछ ।
घटना बाहिरिएपछि रानाले प्रहरीलाई दिएको नाम अनुसार उनीहरुलाई पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए । पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनाराण नगरपालिकाको सखुअवा घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २९ वर्षीय प्रहरी जवान अवधेश प्रसाद यादव, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाहा, ४२ वर्षीय अरविन्द प्रसाद गुप्ता, ४२ वर्षीय कुँवर सिंह, वडा नम्बर १५ बस्ने २४ वर्षीय नन्दन सिंह र ३१ वर्षीय रोशन सिंह रहेका छन् ।
उनीहरु विरुद्ध पर्सा प्रहरीले लागु औषध ओसार पसार एवं अबैध हातहतियार खरखजाना ऐन अन्तर्गत कारवाही सुरु गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै