धन लक्ष्मि फरार भएपछि सयौं सेवाग्राहीहरुको विल्लीबाठ

212 Shares

रौतहट, ११ माघ । धन लक्ष्मि बचत तथा ऋण सहकारी संस्थाले सर्वसाधारण जनताको रकम लिएर फरार भएपछि सयौं सेवाग्राहीहरुको विल्लीबाठ भएको छ ।
रौतहट सदरमुकाम गौर नगरपालिकाको विपी चौकमा रहेका धनलक्ष्मि बचत तथा ऋण सहकारी संस्थामा गरिव, असहायको साथै निम्न बर्ग एवं मध्यम वर्गका व्यक्तिहरु दिनभरीको मेहनतबाट आर्जन गरेका रकम मध्ये विहान बेलुकीको छाकमा कमि गरेर भविष्यमा काम लाग्न सक्ने भन्दै धन लक्ष्मि बचत सहकारी ऋण संस्थामा जम्मा गरेका सयौं उपभोक्ताहरुको करोडौं रकम लिएर संचालक सहितका कर्मचारीहरु फरार भएपछि उपभोक्ताहरुको अहिले बिल्लीबाठ भएको हो ।
महादलित समुुदायमा पर्ने गौर नगरपालिका ७ का गायत्री देवी पासवानले दैनिकी गरेर दुई छोरी अंशु कुमारी र बर्षा कुमारीको नाममा बचत जम्मा गरेको १ लाख २६ हजार साँबा रकम लिएर संचालक मनोज गिरी फरार भएको दुखेसो पोखे । विगत ८ महिना अघि फरार भएका गिरी अहिले सम्म सम्पर्कमा आउन नसकेको बताईन । मलाई ब्याज चाँहिदिन, साँबा दिए पुग्छ, धेरै मेहनेत गरेर, बालबच्चाको पेट काटेर जम्मा गरेको रकम लिएर भाग्दा अहिले अकाशबाट खसे झै भएको छ उनले आफनो पीडा यसरी पोखिन ।
गायत्री मात्रै पिडित होइनन् धनलक्ष्मिले धेरैलाई पिडा दिएको छ । सोही वडाका शेख सताको १ लाख ८ हजार, शेख जाजुको २ लाख ५० हजार, फेकन दर्जीको १ लाख ७० हजार, मोबारक दर्जीको १ लाख ३५ हजार, सुरेन्द्र साह तेलीको ३२ लाख गरी सयौं उपभोक्ताहरुको करोडौं रकम लिएर संचालक गिरी फरार भएको पिडितहरुले बताए ।
यस सम्बन्धमा धनलक्ष्मि बचत ऋण सहकारी संस्थालाई खोजतलास गर्दा विगत महिनौ देखि यहाँ कुनैपनि कर्मचारी नरहेको, संचालक फरार भएर भारतमा रहेको तथा उनीहरु संग सम्पर्क गर्न कुनै माध्यम रहेको छैनन् । पीडितहरु जे भएपनि रकम फिर्ता पाउनु पर्नको लागि अब अन्तिम विकल्प न्यायको लागि सम्बन्धित निकायमा जाने विवश भएको उनीहरुले गुनासो गरे ।
गौरमा रहेको सहकारी संस्थाहरु माथि सेवाग्राहीको विश्वास घट्दै गएको छ । राजश्री बैंकको कतिपय एजेन्टहरु उपभोक्ताहरुको रकम मारिसकेको विभिन्न समयमा समाचारहरु बाहिरिदै गर्दा सहकारी माथि अंकुश लगाउन सम्बन्धित निकाय अविलम्ब पहल गरी निगरानी बढाएमा जनताहरु ठगिनबाट जोगिन सक्छ भने सर्वसासधारणको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार