तराई टप संवाददाता
रौतहट, १२ बैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको गैडाटार स्थित जनशक्ति माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि बार्षिक परीक्षा स्थगन गरी एक साताको लागि विद्यालय बन्द गरिएको छ ।
शिक्षकमा कोरोना संक्रमण पुष्टि हुँदा उक्त विद्यालयमा संचालन हुन लागिएको बार्षिक परीक्षा रोकेर एक साताको लागि विद्यालय बन्द गरिएको हो ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारमा रहेको जनशक्ति माविका एक शिक्षकलाई कोरोना पुष्टि भएपछि आइतबार देखि वैशाख १८ गते सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक विनोद राय यादवले जानकारी दिए ।
चन्द्रपुर नगरस्तरिय बार्षिक परीक्षा समितिले सोमबारबाट बार्षिक परिक्षा सञ्चालनको तयारी पुरा गरिसकेको हुँदा अन्य विद्यालयमा परिक्षा सञ्चालन हुने तर जनशक्ति मावि अध्ययनरत विद्यार्थीहरुको परिक्षा भने स्थगित गरिएको जनाइएको छ । नियमित सञ्चालन भइरहेको विद्यालयले परिक्षाको सम्पुर्ण तयारी सम्पन्न गरिसकेको भएतापनि विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट हुने बार्षिक परिक्षा अर्को सुचना नआउन्जेल स्थगित गरेको प्रधानााध्यक यादवले बताए ।
कोरोनाको जोखिमलाई मध्यनजर राख्दै विद्यालय बन्द गर्नु परेको यादवले बताउदै शिक्षक र छात्रछात्राहरु स्वस्थ एवं निरोगी रहेमा परीक्षा केही समय पछि परीक्षा संचालन गर्ने तर हालको लागि परीक्षा स्थगन बाहेक अन्य कुनै विकल्प नरहेको उनले स्पष्ट पारे ।