चितवन, १६ माघ । चितवनको जल देवीे सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ ।
सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, सहसचिव माधव भुषाल, कोषाध्यक्ष लक्ष्मी पाठक महतो, पार्क व्यवस्थापन समिति संयोजक सहितका पाँच पदाधिकारी विरुद्ध पक्राउ पूर्जी जारी गरिएको सव–डिभिजन अधिकृत शान्ति शर्माले जानकारी दिइन् ।
पक्राउ पुर्जी जारी सबै जना फरार छन् । फरार भएका उनीहरुको खोजी गर्न सशस्त्र वन रक्षकहरुलाई परिचालन गरिएको छ । डिभिजन वन कार्यालय चितवनले शुक्रबार ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको थियो ।
भरतपुर आँपटारी नजिकै रहेको यो सामुदायिक वनमा काठ काटेर लुकाएको सूचना आएपछि गत मंसिर २३ गते चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछाने सहित डिभिजन वन कार्यालयका कर्मचारीहरुले काठ बरामद गरेका थिए ।
डिभिजन वन कार्यालयबाट स्वीकृती लिएर मात्रै काठहरु काटनुपर्नेमा वन समितिका पदाधिकारीहरुले त्यसको उल्लंघन गरेको आरोप लागेको छ । जलदेवी सामुदायिक वनका पदाधिकारीले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गर्दै आएका छन् ।
जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटाले एक विज्ञप्ति निकालेर सांसद रवि लामिछानेले पदीय हैसियत विपरीत काम गरेको र सामुदायिक वन र सामाजिक संजालहरु समेत लिई हठात पार्क परिसरको कार्यालयभित्र प्रवेश गरेको भन्दै आपत्ति प्रकट गरेका थिए ।