जयनगरमा फर्निचर मेला सुरु

   माघ १६, २०७९  
142 Shares

जयनगर, १६ माघ । रौतहटको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला सुरु भएको छ ।
श्रीपञ्चमीको अवसर पारेर सुरु भएको मेला एक महिना सम्म लाग्ने गर्दछ । जिल्लाभरीका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि सजाइएर राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको भीड लागेको छ ।
मेलामा भारतबाट समेत मानिसहरु समानहरु खरिद गर्न आउने गरेका छन् । बर्सेनि लाग्ने फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार राखिएको छ । मेलामा सर्वसाधारणको आकर्षण बढेको शिवनगरका समाजसेवी लालबाबु गिरिले बताए । ‘दुई दशक बढी देखि फर्निचर मेला लाग्दै आएको छ,’ उनले भने, ‘मधेस प्रदेशकै ठूलो फर्निचर मेलाले जिल्लाको शान बढाएको छ ।’
मेलामा सर्लाही, बारा र रौतहटका फर्निचर व्यावसायीहरु आउने गर्छन् । मुख्यगरी मेलामा काठबाट निर्मित फर्निचरको बिक्री हुन्छ । गाउँघरको काठ, प्लाईवुडको प्रयोगले बनेका अधिकांश फर्निचर बजारको तुलनामा मेलामा निकै सस्तो मूल्यमा प्रदान गरिने व्यवसायीको भनाइ छ । मेलाका फर्निचरहरु जनकपुर, पोखरा, काठमाडौ, वीरगंज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै