पेसावरको प्रहरी लाइनको मस्जिदमा विस्फोट कम्तीमा १७ जनाको मृत्यु

138 Shares

पेसावर, १६ माघ । पाकिस्तानको पेसावर सहरको एक मस्जिदमा नमाज पढ्ने क्रममा बम विस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुगेको हो ।
मृत्यु हुनेमा प्रहरी पनि रहेको उनले बताए । प्रवक्ताका अनुसार यस विस्फोटमा करिब ७० जना घाइते भएका छन् जसमध्ये १० जनाको अवस्था गम्भीर छ ।
आजमका अनुसार लेडी रिडिङ अस्पतालको अवस्थालाई ध्यानमा राखेर आपत्काल लागू गरिएको छ । पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले आक्रमणको निन्दा गर्दै आतंकवाद र यसका सहयोगीहरूलाई कडाइका साथ कारबाही गरिने बताए । बिलावल भुट्टो जरदारीले एक विज्ञप्तिमा भने, ‘नेशनल एक्सन प्लान नै आतंककारीहरूको उपचार हो, यसलाई कडाइका साथ लागू गरिनेछ । पीपीपी कार्यकर्ता र अधिकारीहरूले रक्तदान गरेर घाइतेहरूको जीवन बचाउनु पर्छ ।’
पेसावर विस्फोटबारे पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पिटिआई अध्यक्ष इमरान खानले भने, ‘पेसावर पुलिस लाइन्सको मस्जिदमा भएको विस्फोटको कडा निन्दा गरे । पीडितका परिवारप्रति समवेदना जनाए ।’ एजेन्सी ।

सम्बन्धित समाचार