गोलभेंडाको बजार भाउ नपाउदा सर्लाहीका किसानहरु निराश

109 Shares

राधेश्याम कुशवाहा

सर्लाही, १७ माघ । गोलभेंडाको राजधानीको रुपमा प्रख्यात रहेका सर्लाहीको लालबन्दी बजारमा गोलभेंडाको भाउ नपाउदा किसानहरु निरास बनेका छन् ।
नेपाली बजारमा भारतीय गोलभेंडा व्यापक रुपमा भित्रिएको कारण नेपाली किसानले गरेको गोलभेंडाको बजार भाउ पाउन नसक्दा लगानी समेत उठ्न गाह्रो भएपछि यहाँका किसानहरु निरास बनेका हुन् ।
किसानले गोलभेँडा प्रतिक्रयारेट १५० देखि २०० सय रुपियाँमा बिक्री गर्न बाध्य भएका छन् । एक क्रयारेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी ६ देखि ८ रुपियाँ प्रति केजीमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२, शिकारी टोलका किसान वसन्तकुमार डुमजनले दुखेसो पोखे । “सुरुमा एक क्रेट गोलभेँडा एक हजार दुई सय रुपियाँ सम्ममा पनि बेच्यौँ तर अहिले आएर १५० रुपियाँमा बेच्नु परेको छ,” डुमजनले आफनो पिडा यसरी व्यक्त गरे ।
लालबन्दी बजारबाट तरकारी निकासी हुने देशका मुख्य बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा यहाँका किसानलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका–१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले गोलभेँडा बेच्नै समस्या भइरहेको बताए ।
“क्रयारेटको डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र मेहनेत उठ्दैन, तै पनि व्यापारीहरुले किनिरहेका छैनन्,” श्रेष्ठले भने । काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका श्रेष्ठले गुनासो गरे ।
लालबन्दी नगरपालिका–१, नवलपुरका किसान चरित्र कुशवाहले १० कठ्ठामा लगाएको गोलभेँडा धमाधम टिपेर बेच्ने बेला भए पनि बजारमा ल्याउँदा व्यापारीले खरिद गर्न मानिरहेको छैनन कसरी लगानी फर्काउने भने उनलाई पिरोलेको छ । बारिभरी पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका छन् ।
लालबन्दीका कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले भारतीय गोलभेँडा धरै भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्यसिजन भएकाले यहाँ फलेको गोलभेँडाले भाउ पाउन नसकेको बताए । “बजारमा अहिले भारतीय गोलभेँडा धेरै देखिन्छ, यहाँ पनि गोलभेँडा धेरे नै फलेको छ, त्यसैले किसानले भाउ पाउन नसकेका हुन्,” मगरले भने ।
सर्लाहीमा उत्तरी भेगको लालबन्दी, रानिगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुर लगायत क्षेत्रमा गोलभेँडाको व्यवसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा कालिमाटी लगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको छ । किसानले यति सस्तो मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्दा स्थानीय सरकारका रुपमा रहेका नगरपालिकाले कुनै चासो नदिएको गुनासो उनीहरुले गरे ।

सम्बन्धित समाचार