नुनमा रासायनिक पदार्थ मिलाएर विक्री गर्ने व्यापारीको घरमा छापा, संचालक पक्राउ

151 Shares

सर्लाही, १७ माघ । सर्लाहीको गोडैंतामा प्रहरीले रासायनिक मल विक्री गर्ने एक व्यापारीको पसलमा छापा मारेर संचालनलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय किसानहरुको गुनासोको आधारमा गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई आफ्नै घरमा नक्कली मल बनाई किसानलाई बेच्दै गर्दा सोमबार जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
व्यापारी दासले नुनमा रासायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
दासले आफनै स्थित घरमा महालक्ष्मी कृषि सहकारी संस्था र गोडैता–८ बजारमा दास बिज भण्डार नामले नक्कली मलको व्यापार गर्दै आएका थिए । पक्राउ परेका दासको घरमा रहेको महालक्ष्मी सहकारीबाट प्रहरीले पारस सर्वोत्तम खाद्य लेखिएको ३१ बोरा र खुला २५ किलो नियन्त्रणमा लिएको उनले भने । एउटा बोरा, आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेँलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको एउटा खाली बोरा बरामद गरेको छ ।
उक्त संस्थाबाट साल्ट लेखिएको सेतो रङ ९ नुनका १०३ वटा बोरा, डिजिटल तौल गर्ने मेसिन एक थान, रातो रङ लागेको बेल्चा एक थान, बिरला ओक्साइड सिमेन्ट लेखिएको खाली प्याकेट चारवटा नियन्त्रणमा लिए । आधा–आधा भरिएको प्याकेट दुईवटा तथा बोरा सिलाउने मेसिन एक थान बरामद भएको उनले भने ।
दास बिज भण्डार नामले सञ्चालनमा ल्याएको पसलबाट प्रहरीले पारस सर्वोत्तम खाद्य लेखिएको प्रतिबोरा ५० किलो वजन भएको पहेँलो रङको सिलाएको बोरा १० वटा पनि बरामद गरेको छ । नुनलाई नक्कली मल बनाएको खबर पाएपछि दाससहित सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दासलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान जारी रहेको एसपी सुवेदीले जानकारी दिए ।

सम्बन्धित समाचार