सपना झा
रौतहट, १२ वैशाख । जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला कोभिड व्यवस्थापन समितिको आईतवार बसेको वैठकमा कोभिड नियन्त्रण गर्न निर्णयहरु भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको वैठकमा जिल्लाको १८ वटै पालिकाहरु अनिवार्य रुपमा गौर अस्पताल विकास समितिलाई कोभिड नियन्त्रणमा कोभिडबाट लडन थप ५÷५ लाख सहयोग गर्ने निर्णय गरिएको हो ।
सिमानाकामा विशेष निगरानी राखेर एन्टीजेन प्रविधिबाट कोभिड टेष्ट गर्ने, बजारमा भिडभाड हुन नदिने, सभा जुलुश गर्नमा निषेध गर्ने लगायतको निर्णयहरु भएका छन् । जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामएकवाल यादव, गौर नपाका मेयर अजयकुमार गुप्ता, गढीमाई श्यामप्रसाद यादव, माधवनारायणको मेयर विरेन्द्र यादव, राजपुरका मेयर शेख सकिल अख्तर, फतुवा विजयपुरको मेयर गोपाल यादव, कटहरियाको मेयर सियाराम कुश्वाहा, मौलापुरको मेयर रिना साह, गरुडाको मेयर इन्नु राय यादव, यमुनामाई गापाको अध्यक्ष श्रीप्रसाद मुखिया, लगायतका स्थानीय तहका प्रमुख संगै वृन्दावनको प्रमुख कार्यकारी अधिकृत नागेन्द्र यादवको र परोहको प्रशासकीय अधिकृत ओमप्रकाश यादवको उपस्थिति रहेका थिए ।
यसैगरी नेपाल प्रहरीका सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको डिएसपी, राष्ट्रिय अनुसन्धानको निर्देशक मुकुण्ड खड्का, नेपाली सेनाका प्रतिनिधि, उद्योग वाणिज्य संघका पंडित जयसवाल, नेपाल पत्रकार महासंघको अध्यक्ष प्रेमचन्द्र झा, रेडक्रशको अध्यक्ष संजिवकुमार मल्लिक, रेडियो प्रशारक संघ रौतहटको अध्यक्ष रेबन्त झा, विभिन्न गैर सरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।