चीनले नेपाललाई चर्को ब्याजदरको चक्रव्युमा पारेर नेपालको अर्थतन्त्रलाई डामाडोल बनाएको छ ।
चिनियाँ लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रत्यक्ष उदाहरण रहेको हो । विमानस्थलले आर्थिक व्यवभार धान्न नसकेर घाटामा जाने र चीनले श्रीलंकको हम्बनटोटा बन्दरगाहसँगै कब्जा गर्ने चिन्ता उत्पन्न भएको छ । यस्तो बेला चीनले नेपालको चिन्ता झनै बढाउने निर्णय गरेको छ । पोखरामा चिनियाँ पर्यटक भित्र्याएर थोरै भए पनि आर्थिक व्यवभार धान्ने आश जगाएपनि पनि चीनले आफ्नो देशका नागरिकलाई नेपाल जाने नपाउने नियम अघि सारेको छ । नेपालको पर्यटन व्यवसायमै धक्का पुग्नेगरी छिमेकी मुलुक चीनले प्रतिबन्ध नै हुनेखालको निर्णय गरेको हो ।
कोरोना महामारीपछि पहिलो पटक चीनले विदेश घुम्न पाउनेगरी पर्यटन भ्रमण खुला गरेको छ । तर विदेश घुम्न पाउने चिनियाँ नागरिकले भ्रमण गर्न पाउने देशको सूचीमा नेपाललाई राखिएको छैन । यसले एकातिर नेपाललाई ऋणमा डुबाउने, बिआरआई परियोजना जबर्जस्त लागू गर्न खोज्ने र अर्कोतिर उठ्नै नदिन अफ्ठेरो पार्ने नीति चीनले लिएको विज्ञहरुले चिनियाँ निर्णयबाट यस्तो अवस्था आउन सक्ने संकेत दिएको छ ।
नेपाललाई छाडेर चीनले आफ्नो नागरिकलाई थाइल्याण्ड, इण्डोनेसिया, कम्बोडिया, माल्दिभ्स, श्रीलंका, फिलिपिन्स, मलेसिया, सिंगापुर, लाओस, यूएई, इजिप्ट, केन्या, दक्षिण अफ्रिका, रुस, स्वीट्जरल्याण्ड, हंगेरी, न्यूजील्याण्ड, फिजी, क्युबा र अर्जेण्टिना जान खुला गरेको छ । यो निर्णयबाट चिनियाँ पर्यटक अपेक्षा गरेअनुसार नआउने र यसले नेपालको अर्थतन्त्रमै धक्का पुग्ने चिन्ता विज्ञहरूले गरेका छन् ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले चिनियाँ पर्यटक अपेक्षा अनुसार नआउने र नेपालको पर्यटनमा असर गर्ने बताए ।