मनिषा कोइराला निजी कामको सिलसिलामा काठमाडौं

387 Shares

काठमाडौं, २२ माघ । अभिनेत्री मनिषा कोइराला निजी कामको सिलसिलामा काठमाडौंमा छिन् ।
फिल्म ‘हयारीकी प्यारी’ हेर्न हलमा पुगेकी उनी आइतबार पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी बारेको पुस्तक विमोचन गर्न प्रज्ञा प्रतिष्ठान पुगिन् ।
यस्तोमा राम्रो र चित्त बुझ्ने स्क्रिप्ट पाए आफू नेपाली फिल्ममा फर्किन तयार रहेको मनिषाले बताएकी छिन् । दरबार सिने म्याक्समा आयोजित फिल्म ‘हयारीकी प्यारी’ को विशेष शोमा मनिषाले यसबारे कुराकानी गरिन् । ‘किन नगर्ने र ? गर्ने नि । राम्रो आयो भने गर्ने,’ नेपाली फिल्ममा फर्कन चाहेको भन्दै उनले संक्षिप्त जवाफ दिइन् ।
फिल्म हेरिसकेपछि उनले साम्राज्ञी शाह र जितु नेपालको अभिनयको प्रशंसा गरेकी थिइन् । मनिषा यतिबेला सञ्जय लीला भन्सालीको नेट फ्लिक्स फिल्म ‘हीरामण्डी’ मा व्यस्त छिन् ।
सन् १९९० मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट मनिषाले अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म दीपेन्द्र के खनाल निर्देशित ‘धर्मा’ थियो ।

सम्बन्धित समाचार