तराई टप संवाददाता
रौतहट, १५ वैशाख । कोरोना महामारीको दोश्रो लहर तिव्र गतिमा बढिरहको छ तर रौतहट जिल्लामा स्वास्थ्यको अवस्था निकै दैनिय रहेका छन् ।
कोरोना संक्रमितको संख्या एक सय नाघिसक्यो, आइसोलेसन, भेन्टिलेटर संचालन गर्न बजेटको व्यवस्थापन छैन न दक्ष चिकित्सक सहितको प्राविधिक टोली नै छ, यो अवस्थामा स्वास्थ्यको अवस्था रौतहट जिल्लामा दैनिय रहदा यहाँका कोरोनाबाट संक्रमित विरामीहरु होम आइसोेलेसनमा भगवान भरोसे बाँच्न बाध्य रहेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति र संचारकर्मीहरु विच भएको छलफल कार्यक्रममा गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट डा. कृष्णा साहले गत बर्ष आइसोलेसन संचालन गर्दा ४५ लाख रकम तिर्न बाकी रहेको छ तर उक्त रकम तिर्न कुनै श्रोत छैन । अहिले गौर अस्पतालमा २५, धरहरीमा १०० र चन्द्रपुरमा ४० गरी १६५ वेडको आइसोलेसन बनाउन जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिबाट निर्णय भएको हुँदा हामी प्रयास गरिरहेका छौ उनले भने ।
गौर अस्पतालमा आइसोलेसन संचालनमा आएपछि अन्य विरामीहरुको उपचार गर्न गाह्रो हुने बताउदै आज स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आउटडोर बन्द गर्ने निर्णय गर्दा कोरोना बाहेकको अन्य विरामीहरुलाई निकै सास्ती हुने आशंका व्यक्त गरे । चार वेडको भेण्टिलेटर छ, २५ वेडको आइसोलेसन छ तर त्यसलाई संचालन गर्न विशेषज्ञ चिकित्सक सहितको प्राविधिक टोली भएमा मात्रै केही गर्न सकिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जिल्लाको तिन स्थानमा आइसोलेसन संचालन गर्न सवै स्थानीय तह संग समन्वय गरिएको छ, प्रत्येक स्थानीय तहबाट ५÷५ लाखको दरबाट गौर अस्पतालमा रकम जम्मा गराएर आइसोलेसन र करारमा भएपनि चिकित्सक राखेर कोरोना संक्रमितको उपचार गराउन तयारी भईरहेको स्पष्ट पारे । गत बर्ष स्थानीय तहहरु उत्सुक भई क्वारेन्टाइन, आइसोलेसन बनाएको तर यसपाली स्थानीय तहका पदाधिकारीहरु जिम्मेवारी लिनबाट पंछिरहेको अवस्थामा समस्या उत्पन्न भएको गुनासो गरे ।
सिमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरी भारतबाट नेपाल प्रवेश गर्नेहरु माथि विशेष निगरानी बढाइएको हुँदा तिनीहरुलाई समुचित रुपमा व्यवस्थापन गर्ने प्रमुख चुनौती रहेको बताए । सिमामा रहेको अस्थायी हेल्थ डेष्कमा उनीहरुको एन्टीजोन प्रविधिबाट परिक्षण गरेर मात्रै नेपाल भित्र आउन इजाजत दिइएको बताउदै प्रजिअ यादवले कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई घरमै बसेर उपचार गराउन सचेतना गराइएको स्पष्ट पारे ।
अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन रौतहटबासी संग आग्रह गर्दै प्रजिअ यादवले विहेवारी, व्रतबन्धको समय रहेको हुँदा नगई नहुने अवस्थामा मात्रै भारत तिर जान नत्र भने केही दिनको लागि भारत तर्फ नजान समेत जिल्लाबासी संग उनले अपिल गरे । दैनिक रुपमा लाग्न हाट बजारलाई व्यवस्थापन गरिने, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्नमा रोक लगाउने, मास्कको अनिवार्य प्रयोग गरी सचेत बनी कोरोना संग लड्न र नियन्त्रणमा स्थानीय प्रशासनलाई सहयोग गर्न आग्रह गरे ।