तोरी खेती गर्ने किसानहरु खुसी

144 Shares

नवलपुर, २३ माघ । नवलपरासीमा यस वर्षे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढने भएको छ ।
यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताए ।
विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् ।
उनका अनुसार जिल्लामा यस वर्ष १ हजार १ सय ८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा १ हजार २ सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष जिल्लामा १ हजार १ सय ३५ हेक्टर जमिनमा १ हजार २ सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढने देखिएको हो । विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताए । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पुर्याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउँछन् ।

सम्बन्धित समाचार