रेखा शर्माले नेपाली फिल्म एक दिन पनि किन नचलेको भन्दै चासो दिए

   माघ २५, २०७९  
175 Shares

काठमाडौं २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्म एक दिन पनि किन नचलेको भन्दै चासो दिएकी छिन् ।
उनले विदेशी महिनौं चल्ने तर नेपाली फिल्म एक दिन पनि नचल्ने अवस्थामा किन पुगे भनेर फिल्म निर्देशकलाई प्रश्न गरिन् ।
चलचित्र निर्देशक समाजले यूएनडीपीसँग मिलेर आयोजना गरेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्मस्’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन गर्दै मन्त्री शर्माले विदेशी फिल्म चल्ने तर नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको बताइन् ।
अरुका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ । नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्नुपर्ने हो र मन्त्रालयले के गर्नुपर्ने हो ? छलफल गरौं । तर यो अवस्थाको अन्त्य हुन जरुरी छ,’ उनको भनाइ थियो ।
उनले नेपाली फिल्मले ‘क्वान्टिटी’भन्दा पनि ‘क्वालिटी’ बढाउने गरी काम गर्नुपर्ने र जलवायु परिवर्तनजस्ता विषयमा हुने छलफलले विषयवस्तुमा विविधिकरण हुने धारणा राखिन् । ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा संगीत र फिल्मको ठूलो योगदान छ,’ मन्त्री शर्माले भनिन्, ‘अहिले जलवायु परिवर्तनका मुद्दालाई जनतासम्म पु¥याउन पनि सिनेमाको माध्यम उपयोगी हुन्छ ।
सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय फिल्म बन्द गर्ने मोर्चाको अग्रभागमा रहेको स्मरण गर्दै अहिले अरुलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने समय भएकाले नेपाली सिनेमा पनि प्रतिस्पर्धी बन्नुपर्ने बताएकी थिइन् । यसका लागि मन्त्रालयबाट गर्नुपर्ने नीतिगत काम आफूले अगाडि बढाउने बताउँदै चलचित्र ऐन संसदमा लैजाने तयारी गरिरहेको जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै