कृषि विकास बैंकबाट रु ६० हजार ऋण गरी तरकारी खेती सुरू

118 Shares

मोरङ, २७ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिका वर्डा नं. ११ स्थित शुक्रबारेको कृषक मोहनलाल श्रेष्ठले २५ वर्ष देखि निरन्तर रूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएको छ ।
५ दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा कृषि पेशा अपनाएको हो । उनले कृषि विकास बैंकबाट रु ६० हजार ऋण गरी तरकारी खेती सुरू गरेका थिए ।
१ बिघा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका मोहनलालले अहिले यसै पेशाबाट सम्पूर्ण खर्च कटाएर वार्षिक रूपमा रू ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् । ‘वर्ष भरिमा करिब १ हजार स्थानीय कामदारलाई तरकारी खेतीबाट रोजगारीसमेत दिँदै आएको छु’, मोहनलालले भने, कृषि पेशाअन्तर्गत तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत भएको छ ।
अहिले उनलाई तरकारी खेतीमा छोरा कृष्ण कुमारले पनि सहयोग गरेका छन् । तरकारी बिक्री गरेरै आफूले १५ कट्ठा जग्गासमेत जोडन सफल भएको मोहनलालले बताए । तरकारी खेतीसँगै गरेको गाईपालनबाट दैनिक २० लिटर दूधसमेत बिक्री गर्ने गर्छन् ।
तरकारी खेतीमा अहिलेसम्म कुनै सरकारी निकायबाट प्रोत्साहन नपाए पनि युवा लक्षित स्वरोजगार कार्यक्रमबाट ४ वर्ष अघि रु ६० हजार प्राप्त गरेको मोहनलालका छोरा कृष्णलाल बताउँछन् ।

सम्बन्धित समाचार