सुन्तलाको उत्पादन यस वर्ष वृद्धि

97 Shares

काठमाडौँ, ८ फागुन । पर्वत जिल्लामा मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ ।
आर्थिक वर्षका तुलनामा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ । यस वर्ष जिल्लामा ५ हजार मेट्रिक टन सुन्तला उत्पादन भएका छन् । सोमध्ये ४ हजार २ सय ५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाए ।
निर्यात भएका ४ हजार २ सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रु २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औषतमा रु ७० को दरले सुन्तला निर्यात भएका छन् ।
अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । सो मध्ये ५ सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ । उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ ।
गत आर्थिक वर्ष ०७८÷७९ मा पर्वतमा ४ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् ।
कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए ।

सम्बन्धित समाचार