मिथिला बिहारी कुटिबाट डोला निस्केसँगै परिक्रमा सुरु

धनुषा, ८ फागुन । धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी कुटिबाट डोला निस्केसँगै परिक्रमा सुरु भएको छ ।
मिथिला मध्यमिकी परिक्रमा सोमबार देखि सुरु भएको हो । त्रेता युगदेखि जनकपुरधाम स्थित सुन्दर सदन कुटिबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा हुँदै आएका छन् ।
नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमिक परिक्रमाको क्रममा नेपाल र भारतका १५ धार्मिक स्थानमा श्रद्धालुहरु पुग्ने गर्छन् । आज कचुरीबाट निस्केको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमान नगरमा पुगी विश्राम गर्नेछन् ।
फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ । हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ ।
नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १ सय ७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर भूभागको श्रद्धालुहरु परिक्रमा गर्ने गर्छन् । मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन् । सबै विश्राम स्थलको आ– आफ्नै विशेषता रहेको छ ।