‘फूलबारी’ फिल्म तिन दिन लामो सप्ताहन्त बिदाको फाइदा

246 Shares

काठमाडौं ९ फागुन । विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘फूलबारी’लाई तीन दिन लामो सप्ताहन्त बिदाको फाइदा पुगेको छ ।
घरेलु बक्स अफिसमा ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित यो फेमिली ड्रामाले सोमबारसम्म एक करोडभन्दा बढी ग्रस कलेक्सन गरिसकेको हो ।
मंगलबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण छ । मध्यान्हसम्म प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ, ।
‘महापुरुष’ र ‘दुई नम्बरी’पछि कुनैपनि नेपाली फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका थिएनन् । ‘अवतार २’ र ‘पठान’जस्ता विदेशी फिल्मले दर्शक फर्काए पनि नेपाली फिल्म दर्शक फर्काउने मामलामा कमजोर देखिएका थिए ।
तर ‘फूलबारी’ले दर्शक फर्काउन सकेको छ । यसपछाडि मुख्यतः तीन कारण देखिन्छन् जसमा लगातारको सार्वजनिक बिदा, सकारात्मक समीक्षा र ‘कबड्डी’ ब्राण्डले प्रचारप्रसारमा दिलाएको साथ लगातार तीन दिनको सार्वजनिक बिदाले फिल्मको कमाइमा फाइदा पुग्यो ।
यशोधा फिल्म्सको ब्यानरमा रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीमा विपिन कार्कीले ६० वर्षीय अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, सोमनाथ खनाललगायत पनि मुख्य भूमिकामा छन् ।

सम्बन्धित समाचार