निजी अस्पतालले जनसेवामुखी भएर सेवा भावले काम गर्न आग्रह–सभामुख

200 Shares

जनकपुरधाम, ९ फागुन । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले निजी अस्पतालले व्यवसायीमुखी भन्दा जनसेवामुखी भएर सेवाभावले काम गर्न आग्रह गरेको छ ।
जनकपुरधाम स्थित मैक्स लाईफ होस्पिटलमा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले आयोजना गरेको निःशुल्क क्यान्सर परीक्षण शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले निजी अस्पतालले समाजको लागि पनि सेवा देखिने गरी काम गर्न आग्रह गरे ।
उनले समाजमा निजी क्षेत्रका संस्थाले समाजबाट व्यवसायिक रुपमा लाभ लिइ रहँदा समाज प्रतिको दायित्व बिर्सिदा नकारात्मक विचारको विकास हुनु दुर्भाग्यपूर्ण रहेको बताए । सभामुख मण्डलले भने, ‘अहिले समाजमा होस्पिटल, नीजि बैंक, नीजि विद्यालय, होटेल लगायतका संस्थाहरु जथाभावीरुपमा खोलिए पनि समाजमा उनीहरुको लगानी नहुँदा समाज प्रतिको दायित्व भन्दा पनि नाफा मूलक व्यवसायीले समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’
पूर्वाञ्चल क्यान्सर होस्पिटलले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए । त्यस्तै, पूर्वाञ्चल क्यान्सर होस्पिटल तथा विएनसि मेडिकल कलेजका निराजन प्रसाईले क्यान्सरको उपचार ९० प्रतिशत सम्भव रहेको बेलामा आफ्नो शरीर जाँच गराई क्यान्सर लगायत रोगहरुबाट बच्न सकिने बताए ।

सम्बन्धित समाचार