पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि उडानको लागि तयार

   फाल्गुन ११, २०७९  
93 Shares

काठमाडौं, ११ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानको लागि तयार भएको छ ।
विमानस्थलमा आजदेखि रात्रिकालीन उडानको लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स प्रणाली बिहीवारदिेखि लागू भएको विमानस्थलले जनाएको छ ।
यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने ।
विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो ।
विमानस्थल सबै उडानको लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ ।
आजदेखि रात्रिकालीन उडानको लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जानकारी दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै