राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता

117 Shares

गुल्मी, ११ फागुन । गुल्मीको सदरमुकामको तम्घासमा बिहीवारदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ ।
पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइने छ । यहाँ जिल्लाका १२ पालिकाबाट १ हजार ३ सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुने भएको हो ।
जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा । भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै छ ।
पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ ।
बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरुले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताए ।
बजेट अभावको कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । आफूहरुसँग पर्याप्त रकम नहुँदा सामान्यरुपमा छनोट गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए ।
गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको ९ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको ९ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिए । साढे ४ लाख बाहेकको बजेट भाडाबाट उठने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ । यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ ।
स्थानीय पालिकाबाट रु ५०÷५० हजार सहयोग भएमा आफूहरुले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ । तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटको लागि तयारी पूरा भएको बताएको थियो ।

सम्बन्धित समाचार