इन्टरनेट र टेलिफोनको तार ७ दिन भित्र हटाउन निकायलाई अनुरोध

   फाल्गुन १२, २०७९  
90 Shares

काठमाडौं, १२ फागुन । ललितपुर महानगरपालिकाले क्षेत्र र पर्यटक मार्ग वरपर रहेका अव्यवस्थित इन्टरनेट र टेलिफोनको तार ७ दिन भित्र हटाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
सडक किनारका पोलमा झुण्डयाइएको इन्टरनेट र टेलिफोनका तारको मुठाहरुले शहर नै कुरुप भएपछि महानगरले आज सार्वजनिक सूचना जारी गर्दै तीनलाई ७ दिनभित्र हटाउन भनेको हो ।
सूचनामा लेखिएको छ, ‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिंदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्वारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल–पोलमा राखिएका तारको अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं ।’
महानगरपालिकाको कार्यालय अगाडि, ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउनु हुन अनुरोध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै