मिथिलाञ्चलमा आजदेखि होली पर्व सुरु

193 Shares

जनकपुरधाम, १५ फागुन । मिथिलाञ्चलमा आजदेखि होली पर्व सुरु भएको छ ।
पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका वर्डा नं. ९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो ।
परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए ।
मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यग्ङ्गात्मक कविता तथा चुटुकुला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुने छ ।
धनुषाको हनुमानगढीमा गत सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमा यात्री जम्मा भई मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुने छ ।

सम्बन्धित समाचार