कारवाहीको माग गर्दै नेविप्रा वितरण केन्द्र मौलापुरको सेवा ठप्प

218 Shares

रौतहट, १६ फागुन । आम जनता पार्टीका जिम्मेवार नेताद्धारा नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र मौलापुर शाखाका इन्जिनियरलाई कुटपिट गरेको घटनालाई लिएर उक्त केन्द्रको सम्पूर्ण सेवा ठप्प गरिएका छन् ।
नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रको इन्जिनियरलाई गत फागुन ४ गते कार्यालयमा गएर लछारपछार गरी डाका शैलीमा कुटपिट गरेकोमा कर्मचारीहरूले अनिश्चितकालको लागि कार्यालय बन्द गरी सेवाहरु ठप्प पारेका हुन् ।
मौलापुर वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरी माथि कुटपिट भएको भन्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू अनिश्चितकालका लागि बन्द गरेको बताइएको छ ।
आम जनता पार्टीका जिम्मेवार पदाधिकारी त्रिभुवन साह र धिरज पाण्डेको समुहले नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका सहायक ईन्जिनीयर चौधरीलाई निर्घात कुटपिट गरेको थियो । फागुन ४ गते विहान १० बजेको समयमा साह र पाण्डेको नेतृत्वमा आएका २०–३० जनाको अराजक समुहले कार्यालय भित्र प्रवेश गरी विना कारण ईन्जिनीयर चौधरीलाई कुटपिट गर्नुको साथै गाली गलौज गरेको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रले जनाएको छ ।
उनिहरुले ईन्जिनीयर चौधरीलाई कुटपिट तथा गाली गलौज गर्दै तानाशाही शैलीमा अपहरण गरी गाडीमा लगेको र विना प्रकृयाको विद्युत लाइन जडान गर्न लगाएको नेपाल विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्र जनाएको छ । घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्न कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा दिएको किटानी जाहेरी हालसम्म दर्ता गर्न नभएको र सो घटनाको दोषीलाइ हालसम्म कुनै कारवाही नभएको हुँदा घटनाका दोषीहरुलाइ कार्यवाही नभएसम्म कार्यालय बाट प्रवाह हुने अति आवश्यक सेवा बाहेक सम्पूर्णसेवा बन्द गरिएको वितरण केन्द्र श्रोतबाट बुझिएको छ ।
मधानी यज्ञको बहानामा अनाधिकृत तवरबाट विद्युत प्रयोग गरेर चुहावट गर्न नदिदा बलपूर्वक यसप्रकारको घटनालाई सुनियोजित रुपमा घटाएको तथा गल्ति पनि गर्न लगाउने र संघिय सदनमा त्यस क्षेत्रका साँसदद्धारा चर्को स्वरमा घटनालाई अतिरंजित बनाएर पेश गर्ने कार्य विरुद्ध कर्मचारीहरु मौलापुरमा असुरक्षित रहेको भन्दै वितरण केन्द्रबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवाहरु बन्द गरिएको ति श्रोतलेब बतायो ।

सम्बन्धित समाचार