मिटरब्याजी पीडितले ९ दिनपछि धर्ना स्थगित गरे

103 Shares

सर्लाही, १७ फागुन । सर्लाहीका मिटरब्याजी पीडितले नौ दिनपछि धर्ना स्थगित गरेको छ ।
मिटरब्याजी साहुले ठगी गरी उठिवास लगाएको भन्दै उनीहरुलाई पक्राउ गरी कारबाही गर्न, आफ्नो घर तथा जग्गाजमिन फिर्ता गर्न र जाली तमसुक खारेज गर्न माग गर्दै जिल्लाभरका मिटरब्याजी पीडित यही फागुन ७ गतेदेखि नवलपुर चोकमा धर्नामा बसेका थिए ।
सोमबार नवौँ दिनमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अन्य सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायत धर्नास्थलमै आएर आफूहरुको मागका सम्वन्धमा सम्वोधन र सहजीकरणको प्रतिवद्धता जनाएपछि पीडितले धर्नाको कार्यक्रम स्थगित गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले केही दिनअघि मात्रै मिटरब्याजी पीडितको ४४३ वटा फाइल जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । ती फाइल विभिन्न इलाका प्रहरी कार्यालयमा पठाइ त्यहाँ पीडित भनिएका व्यक्ति र साहुबीच छलफल गराइ समस्या समाधानको लागि पहल गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सम्बन्धित समाचार