काठमाडौं, २६ फागुन । भृकुटीमण्डप स्थित फनपार्कको जग्गा भाडामा दिदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई साढे ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना तोकेको छ ।
भृकुटिमण्डपको फनपार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर भ्रष्टाचार गरिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दिएको थियो ।
अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीश शालिग्राम कोइराला, र बलभद्र बाँस्तोलाको इजलासले जग्गा भाडामा तात्कालिन मन्त्री न्यौपानेले भ्रष्टाचार गरेको ठहर गर्दै सजाय तोकेको हो ।
अदालतका उपरजिष्टार एवं सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्र कुमार यादव भनिने रवीन्द्र कुमार, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने र काठमाडौं फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी ठहरिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फनपार्कको जग्गा अनियमितता प्रकरणमा २०७५ माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।
२०६९ भदौ २० मा परिषद्को कार्य सञ्चालन समितिको बैठकले बिनाटेन्डर फनपार्कलाई १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो ।