जनकपुरधाम, २८ फागुन । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत फोडेर लामो समयदेखि फरार भएको १ थुनुवा पक्राउ परेको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका वडा नं.७ का ३६ वर्षीय शंकर महतो शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएको हो ।
माघ १२ गते हातहतियार खरखजाना मुद्दामा मिथिला नगरपालिका वडा नं.२ स्थित नक्टाझिजबाट पक्राउ परेका थिए । गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये ४ जनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।
खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते हातहतियार तथा खरखजाना मुद्दाका मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते शान्तिसुरक्षा विरुद्धको मुद्दाका अभियुक्त क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय हरिदिप सिंह र २५ वर्षीय अमित मण्डलाई पक्राउ गरेको थियो ।