रौतहट, २८ फागुन । सुरक्षा लापरवाहीको कारण गौर कारागारमा गम्भीर प्रकृतिका कैदी बाहिर गएर दुर्घटना भएको समाचार बाहिरिएपछि गौर कारागारको सुरक्षा व्यवस्था परिवर्तन गरेर छानविन समिति गठन गरिएको छ ।
रौतहट सदरमुकाम गौरको मध्य भागमा रहेका कारागारबाट फागुन २४ गते बुधवारका दिन बाहिर गएर मोटरसाइकल दुर्घटनामा परेर घाईते भएको विषयलाई लिएर स्थानीय प्रशासन गम्भीर भई कारागार भित्रको सुरक्षाकर्मीको टोलीलाई परिवर्तन गरी प्रशासकीय अधिकृत मणिभुषण साहको अध्यक्षतामा पाँच सदस्यी छानविन समिति गठन गरेको हो ।
छानविन समितिमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान सहितको सुरक्षा समितिलाई सदस्यमा राखेर एक साता भित्र रिपोर्ट पेश गर्न जिल्ला प्रशासन कार्यालय रौतहट छानविन समिति गठन गरिएको जनाइएको छ ।
कारागारको सुरक्षामा तैनाथ रहेका प्रहरी नायव निरीक्षक तेजीलाल यादव सहितका सुरक्षाकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालयमा तानेर अर्को प्रहरी अधिकृत सहित सुरक्षाकर्मीलाई खटाइएको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले जानकारी दिए । तानिएका प्रहरी नायव निरीक्षक यादव संग स्पष्टीकरण सोधिएको र प्रक्रियागत रुपमा कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।
गौर कारागारमा लागूऔषध ब्राउन सुगर कारोबार अपराध मुद्दामा सजाय पाएर कैद भुक्तान गरीरहेका कैदी पवन यादव घर जादा मोटरसाइकल दुर्घटनामा परेका थिए । बारा जिल्ला भटिनिया घर भएका कैदी यादव ब्राउन सुगर कारोबार मुद्दामा जिल्ला कारागार कार्यालय गौरमा १५ वर्ष र ५ लाख जरीवानामा कैद भुक्तान गर्दै आएको थियो । कैदी यादव जेलका कैदीहरुको चौकीदार (नाइके) रहेका हुन ।
केहिदिन अघि पनि रौतहटको सदरमुकाम गौर स्थित रहेको गौर राइस मिल्सको प्रांगणमा भएको श्री अन्नत विष्णु महायज्ञमा पुजा र मेलामा कैदि यादव सहभागी भएको तस्वीर समाजिक संजालमा भाइरल भएको थियो । उनी होली मनाउन बारा जिल्ला गएको र मदिराले मातिएर मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएको बताइएको छ । घरबाट जेल फर्किने क्रममा रौतहट जिल्लाको परोहा नगरपालिका कार्यालय नजिक रहेको लौकाहा चौक निर मोटरसाइकल दुर्घटनामा परेका थिए ।
मोटरसाइकल दुर्घटना हुदा खुट्टा भाचिएकोले बिरगंज स्थित एलएस न्यूरो एण्ड जेनरल हस्पिटल न्यूरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कारागारका कैदी चौकीदार निशेधित एरिया तर्फ गएकोमा सुरक्षामा गम्भीर चुक भएको बताउदै कारागारका जेलर शम्भु यादव सहितका कर्मचारी र सुरक्षाकर्मीहरुको भुमिका सम्बन्धमा छानविन समिति गठन भएको हुँदा दोषि कसैलाई नछाडिने तथा कारवाही हुने स्पष्ट पारे । कारागार जस्तो संवेदनशिल विषयमा लापरवाही गर्ने जोकोही दोषि पाइएमा कारवाही हुने चेतावनी दिए ।