काठमाडौं, २८ फागुन । नेपालले यूएईलाई विशाल रन अन्तरले हराउदै एकदिवसीय अन्तरराष्ट्रिय क्रेकेटको मान्यतालाई जोगाउन सफल भएका छन् ।
किर्तीपुरको खेल मैदानमा आईतवार भएको ओडिआई खेलमा १७७ रनको विशाल रन अन्तरबाट हराउदै नेपालले एकदिवसीय क्रिकेटको मान्यतालाई जोगाएका हुन् ।
यो जित संगै नेपाल आईसीसी विश्वकप क्रिकेट लिग २ का बाँकी दुई वटै खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि बलियो भएका छन् ।
जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ । नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ ।
यूएईको हारसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ । लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ भने शीर्ष ३ टिमले विश्वकप छनोट खेल्न पाउने छन् ।
यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नु पर्नेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको आइतबारको खेल नेपाल र यूएई दुबैका लागि गर या मरको स्थितिमा थियो । टस जितेर पहिला ब्याटिंग गरेको नेपालको ओपनिङ जोडीको प्रदर्शन खराब रह्यो । तर मध्यक्रममा ब्याटरले आफ्नो जिम्मेवारी पुरा गर्दै नेपालले २४८ रनको सम्मानजनक योगफल खडा गरे ।
२४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो र नेपाल १७७ रनले विजयी भयो । रन अन्तरको हिसाबमा ओडीआईमा यो नेपालको अहिले सम्मकै विशाल जित हो । यसअघि २०२१ सेप्टेम्बरमा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको थियो ।
यूएईविरुद्ध आजको खेलमा शृंखलामा पहिलो खेल खेलिरहेका ललित राजवंशीको नेतृत्वमा नेपाली बलरले शानदार प्रदर्शन गरे । राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए ।
सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले किफायती बलिङ गर्दै ५ ओभरमा ३ मेडन राख्दै जम्मा ६ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले समान १ विकेट लिए ।
यूएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए भने अश्वन्थ भल्थापाले १४ रन जोडे । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।