मुनाफाखोरको गोदामबाट बरामद गरिएका अक्सिजन सिलिण्डर गौर अस्पताललाई हस्तान्तरण

तराई टप संवाददाता
रौतहट, २६ वैशाख । प्रहरीले मुनाफाखोरको गोदामबाट बरामद गरिएका मध्ये २३ वटा अक्सिजन सिलिण्डर कोभिड अस्पताल गौरलाई शनिवार राति हस्तान्तरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गौर अस्पतालमा कोभिड विरामीहरुको लागि समुचित रुपमा उपचार गर्न तयार पारिएका कोभिड वार्डहरुमा अक्सिजन सपोर्टका आधारमा विरामीहरुलाई बचाउने उद्देश्यबाट मुनाफाखोरको गोदामबाट छापा मारेर ल्याइएको ७.५ किलोग्राम क्षमताको २३ वटा अक्सिजन सिलिण्डर अस्पतालका डा. घनश्याम ठाकुरलाई शनिवार राति १० बजेको समयमा हस्तान्तरण गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड भेरियेन्ट सहितको भाईरसबाट संक्रमित भई गौर अस्पतालमा अस्थायी कोभिड वार्डमा १६ वना विरामीहरु उपचार गराई रहेको तथा उनीहरुलाई अक्सिजन अभाव हुँदा राति नै हस्तान्तरण गरी विरामीहरुलाई समुचित रुपमा सदुपयोग गरेर जिवन रक्षा होस भने अभिप्रयाबाट दिइएको डिएसपी श्रेष्ठले भने ।
गोप्य सुचनाको आधारमा शनिवार गौर, गरुडा र चन्द्रपुरको विभिन्न स्थानहरुमा प्रहरीले छापा मारेर विभिन्न साइजको ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएका थिए ।