भारतबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकको लागि १३ वटा नाका प्रवेशको लागि खुला

   २८ बैशाख २०७८, मंगलवार १३:२२  

तराई टप संवाददाता
रौतहट, २८ वैशाख । मित्र राष्ट्र भारतमा तिव्र रुपमा फैलिएको कोरोनाको महामारीबाट वेरोजगार भएका नेपाली नागरिकहरुका लागि रौतहटको गौर सहित १० वटा नाकाबाट नेपाल प्रवेशको लागि खुला गरिएको छ ।
भारतमा कोरोना भाइरसको सुनामी आएपछि वेरोजगार भई स्वदेश फर्किन लागेका नेपाली नागरिकहरुको हकमा सुरक्षित र व्यवस्थित रुपमा प्रवेश गर्न दिइने शर्तमा गौर सहित १३ वटा सीमा नाका खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीट मार्फत जानकारी दिएका हुन् ।
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएपछि नेपाल सरकारले सीमानाकामा कडाई गरेपछि नेपाली नागरिकहरुलाई नेपाल प्रवेशमा असहज भइरहेका थिए । नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या उकालो लाग्ने क्रम नरोकिए पछि कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नका लागि मुलुकको रौतहट सहित ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।
जसमध्ये भारतसँग खुला सीमा जोडिएको रौतहट जिल्लासहित अन्य सीमा जोडिएका जिल्लाहरुमा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । यी जिल्लाहरुमा रहेका अन्तरराष्ट्रिय सीमानाका पनि बन्द गरिएकोमा सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदको निर्णय सँगै अब ति नाकाहरु खुला रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञाको समयमा भारतबाट नेपाल आउन चाहनेहरुका लागि सरकारले १३ वटा नाका खुला गरेको छ । मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ । त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ । सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरु ।

१. वीरगञ्ज – पर्सा
२. गौर – रौतहट
३. भित्तामोड –धनुषा
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. पुलाघाट – दार्चुला
९.झुलाघाट – बैतडी
१०.गड्डा चौकी – कञ्चनपुर
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – इलाम

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै