गौर नगरपालिकाले संचालनमा ल्याए २० वेडको अस्थायी कोरोना अस्पताल

तराई टप संवाददाता
रौतहट, २८ वैशाख । कोरोना संक्रमणको विकराल रुप लिदै गएपछि नगरवासीलाई समुचित रुपमा उपचार गराउनका निमित्त गौर नरसिंग इन्ष्टिच्यूटको भवनमा गौर नगरपालिकाले मंगलवार देखि २० वेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।
भारत संग सिमा जोडिएको रौतहट जिल्लामा कोरोना संक्रमित विरामीहरुको संख्या दिनप्रति दिन बढ्दै गएको छ । गौर अस्पतालमा खडा गरिएको कोभिड वार्डको क्षमताले नभ्याईरहेको परिवेशमा डिसिसिएमसीको वैठकमा प्रत्येक स्थानीय तहमा कम्तीमा १० वेडको कोरोना अस्पताल बनाउन भएको सहमती अनुसार गौर नगरपालिकाले नसिंग इन्ष्टिच्यूट गौरमा अक्सिजन सहितको २० वेडको अस्थायी अस्पताल आजबाट संचालनमा ल्याएको गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले जानकारी दिए ।
कोरोना अस्पतालको रेखदेख एवं शव व्यवस्थापनको लागि जिम्मेवारी वृदल गणको नेपाली सेनालाई दिइएको तथा २४ औं घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराइएको जानकारी दिदै मेयर गुप्ताले कोरोना संक्रमित भएका विरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण औषधी नगरपालिकाले वेहोर्छ बाहिरबाट किन्नु नपर्ने बताए ।
कोरोना अस्पतालमा २ जना एमविविएस चिकित्सक, २ जना स्टाफ नर्स सहितको आवश्यक जनशक्तिको प्रवन्ध मिलाएरै आज देखि कोभिड अस्पताल संचालनमा ल्याइएको मेयर गुप्ताले भने ।
चन्द्रपुरको शहिद पार्कमा तयार भएको ४५ वेडको कोभिड अस्पताल संचालनमा आइसकेको छ र गौरमा ३२ वेड केही दिन अघि देखि संचालनमा आएको हुँदा अति नै सिकिस्त भएपछि मात्रै बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुले बताए ।
प्रदेशको प्रभारी मन्त्री रामनरेश यादवद्धारा निरीक्षण
प्रदेश सरकारले कोरोनाको बढ्दो संक्रमणलाई दृष्टिगत गरी रौतहट र सर्लाही जिल्लामा आइपर्ने समस्याको समाधान गर्न प्रभारी नियुक्त भएका मन्त्री रामनरेश यादवले रौतहटमा संचालनमा आएको अस्थायी कोभिड अस्पतालको निरीक्षण गर्दै आवश्यक पर्ने जनशक्तिहरु निकट भविष्यमा पुरा गर्ने आश्वासन दिए ।
जुनियर चिकित्सकको भरमा रौतहटको गौर स्थित सरकारी अस्पताल संचालनमा रहेको र पटक पटक दक्ष जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकारलाई गुहार्दा समेत किन पुरा भएन भने प्रश्नको जवाफमा मन्त्री यादवले प्रदेशको आठै जिल्लामा कोरोनाको महामारी तिव्र रुप लिइसकेको छ, प्राय ः स्थानहरुमा दक्ष चिकित्सक अभाव रहेको हुँदा संघिय सरकार संग समन्वय गरी चाँडै अभावलाई दुर गर्ने प्रयासमा छौं निकट भविष्यमै समाधान हुने विश्वास व्यक्त गरे ।
कोभिड अस्पताल निरीक्षणमा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुण साह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यबहादुर सेन ओली सहित सुरक्षा निकायको पदाधिकारीहरु, राजनितिकर्मी अनिल सिंह लगायत स्वास्थ्यकर्मीहरु रहेका थिए ।