कहिले नआउने गरी दुई तारा अस्ताए

   ३० बैशाख २०७८, बिहीबार १७:११  

तराई टप विशेष
रौतहट, ३० वैशाख । कहिले नआउने गरी दुई दिनमा दुई तारा अस्ताएको खवरबाट रौतहटको संचार क्षेत्र विक्षिप्त अवस्थामा पुगेको छ । कोरोना महामारीले दुई जना युवा पत्रकारलाई टिपेर लगेपछि यतिवेला रौतहटको पत्रकारिता क्षेत्र शोकमा डुवेका छन् ।
दुई दिनमा दुई जना युवा पत्रकारलाई गुमाउदाको पिडाबाट छपटिरहेका रौतहटको पत्रकारिता क्षेत्रमा कार्यरतहरुमा त्रास र डरको वातावरणले विक्षिप्त आवस्थामा पुगेका हुन् । गत मंगलवार नेपाल प्रेस युनियन रौतहटको कोषाध्यक्ष एवं रेड टेलिभिजनको संस्थापक रामा देवी यादव सिकिस्त भई गौर अस्पतालमा भर्ना भएको एक घण्टा नवित्दै देहावसान भयो भने १३ दिन अघि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा भर्ना भई उपचार गराईरहेको गरुडा नगरपालिकामा स्थायी घर भएका मधेश मसला एफएमको स्टेशन मैनेजर एवं जनकपुर टुडे पत्रिकाको संवाददाता मनोज चौधरीको बुधवार साँझ निधनको खवरले यहाँको पत्रकारिता क्षेत्रमा कार्यरत संचारकर्मीहरुलाई ठूलो क्षति बेहोर्नु परेका हुन् ।
संचार उद्यमी रामादेवी यादवको मृत्यु पछि उनको परिवारमा कन्तविजोग भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व उपाध्यक्ष जयप्रकाश यादवकी पत्नी तथा रेड टेलिभिजनकी संस्थापक रामादेवीको कोरोना संक्रमण पुष्टि भएको केही बेरमै देहान्त भएको खवरले संचार क्षेत्रमा आवद्धहरुलाई पत्याउन गाह्रो भयो । गत मंगलवार दिउँसो स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पतालमा उपचारको पुर्याइएकी संचार उद्यमी यादवलाई इमर्जेन्सी वार्डमा राखेर उपचार सुरु गरियो, शरीरमा रगतको अभाव देखिएको थियो र रगतको व्यवस्था पनि भइसकेको थियो । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ भएको देखिएपछि तत्काल कोभिड अस्पतालमा भर्ना गर्नुपर्ने सल्लाह भइरहेकै बखत उनको मृत्यु भयो ।
संचार उद्यमी यादवलाई केही दिनदेखि हल्का ज्वरो आउने तथा जीउ दुख्ने समस्या देखिएको हुँदा घरमै उपचार गरिएको थियो । उनको ८, १०, १२ र १५ वर्षका चार छोरी छन् ।
गरुडा स्थायी घर भएका ४१ वर्षीय पत्रकार मनोज चौधरी त युवाहरुका ढुकटुकी नै थिए । पत्रकार चौधरीको मृत्युको खवर आगो जस्तै समाजिक संजालमा फैलिएपछि पत्रकारिता क्षेत्र मात्रै नभई गरुडा क्षेत्रका बासिन्दाहरु पनि शोकमग्न भए । उनको पार्थिव शरिर गाउँ ल्याइदै छ भने खवर सुनेर गाउँलेहरु कोरोनाको वास्ता नगरी बाटो कुरेर बसेका थिए ।
कसैलाई पनि पत्रकार चौधरीको देहान्तमाथि विश्वास लागिरहेको थिएन । गत वैशाख १० मा हल्का ज्वरो र रुघाखोकी लागेपछि घरमै उपचार गराएका पत्रकार चौधरीलाई वैशाख १५ गते असहज भएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको थियो । करिब २४ घन्टा इमर्जेन्सी वार्डमा राखेर उपचार गरिएका पत्रकार चौधरीमा कोरोना पोसेटिभ देखिएपछि १६ गते आइसियुमा राखी उपचार गरिएको भए पनि भर्ना गरिएको १३ औँ दिनमा उपचारकै क्रममा मृत्यु भयो ।
पत्रकार चौधरीका ५ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । ३५ वर्षकी श्रीमती पूनम चौधरी घरि मुर्छा पर्ने र खुल्ने तथा फेरि बेहोस हुने भइरहेको छ । पत्रकार चौधरीका दाजु रामकृष्ण चौधरी माथि त दुःखको पहाड नै टुटेको छ । आफ्नो छोरा जत्तिकै पालेर राखेका भाइको मृत्युले निकै मर्माहत बनाएको बताए ।


दुई दिनमा दुई संचारकर्मीको देहान्त भएपछि रौतहटको सम्पूर्ण संचार क्षेत्र नै शोकमा डुबेको छ । संचारकर्मी, संचार माध्यम तथा संचारसम्बद्ध सम्पूर्ण संस्थाहरुले दुवै संचारकर्मी प्रति श्रद्धान्जलि दिइरहेका छन् । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले शोक सन्देश प्रकाशित गरी दुई संचारकर्मीको निधनबाट संचारक्षेत्रमा भएको अपुर्णिय क्षति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै