थप एक साता सम्म रौतहटमा निषेधाज्ञा जारी, साताको दुई दिन मात्रै दैनिक उपभोग्य बस्तुको पसल खुल्ने

   ३१ बैशाख २०७८, शुक्रबार १४:४७  

तराई टप संवाददाता
रौतहट, ३१ वैशाख । कोरोना भाईरसबाट संक्रमितको संख्यामा बढोत्तरी हुन थाले संगै मृत्यु हुनेहरुको संख्यामा कमी नआउदा जिल्ला प्रशासन कार्यालय रौतहटले एक साताको लागि निषेधाज्ञाको अवधी थप गरेको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बिहीबार बसेको बैठकले वैशाख ३१ गते १२ बजे राति देखि जेठ ७ गते सम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरेको हो ।


यस अघि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । तर कोरोना संक्रमणको दर उच्च हुँदै गएको र यस अवधीमा मर्नेहरुको संख्यामा निकै बढ्दै गएपछि आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तर्ता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
दिनप्रतिदिन कोरोना संक्रमित र मृत्कको संख्या बढदै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको प्रजिअ यादवले भने । थप गरिएको निषेधाज्ञाको केही स्वरुप परिवर्तन गरिएको छ । निषेधाज्ञामा अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पुर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
पहिलो चरणको निषेधाज्ञामा सबै किसिमको व्यापार व्यवसाय खोल्न दिने निर्णय गरिएको थियो तर अहिले थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री किराना पसल, फलफुल, तरकारीका पसलहरु हप्ताको दुई दिन सोमवार र विहिवार मात्र खोल्न दिने निर्णय गरिएको उनले जानकारी दिए ।
बैंक तथा वित्तिय संस्थाहरु २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतवार र बुधवार मात्र खुल्ला रहने छ । माछा मासुको व्यवसाय पलस खोली विक्रि गर्न रोक लगाइएको छ भने स्वास्थ्य मापदण्ड पाल्ना गरी विकास निर्माण कार्य सञ्चालन गर्न पाउने छन । निषेधाज्ञामा औषधी तथा औषधी जन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना २४ औ घण्टा खुल्ला राख्न भनिएको छ । अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, विमा, सार्वजनिक संस्था लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगीत गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भइ कार्यालयको आन्तरिक प्रशासन शाखा सञ्चालन गरिन भनिएको छ ।
एकै ठाउँमा रोकी सञ्चालन हुने व्यापार व्यवसाय, हाट बजार लगाउन प्रतिबन्ध लगाइएको छ । त्यस्तै सवारी साधनहरुमा अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खोनपानी, विधुत, ढुवानी तथा यातायातका साधनहरु सञ्चालन रहने छ भने अत्यावश्यक कार्यमा खटिने सरकारी नम्बर प्लेटका सवारी साधनहरु, आधिकारीत प्रेस पास सवारी साधनहरु, स्वास्थ्यकर्मी, प्रहरी र बैंकका कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिइएको छ ।
सार्वजनिक यातायातका सवारी साधनहरु बस, टयाक्सी, जीप, टेम्पो र निजी सवारी साधनमा चार र दुई पांग्रे सवारी साधन चलाउन पुर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, मेला महोत्सव, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सवार, नाच, दोहोरी, क्लव, सपिंगमल, मनोरंजनस्थल, शैलुन, होटल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना, शैक्षिक संस्था, टयूसन सेन्टर, पुस्तकालय, संग्रहालय, खेलकुद र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।
त्यस्तै विवाह, ब्रतबन्ध, नृत्य, मृत्यु संस्कार लगाएतका कार्यक्रममा अनिवार्य रुपमा २५ जना भन्दा बढी सहभागी नहुन र मास्क स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । त्यस्तै निर्माण सामग्रि ढुवानी प्रत्येक दिन राति ८ बजेदेखी विहान ७ बजे भित्रमा मात्र आवतजावत गर्नदिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा सार्वजनिक गरिएको पत्रमा उल्लेख गरिएको छ ।
जारी भएको निषेधाज्ञा आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग एन २०२० अनुसार कार्यवाही गर्ने जिल्ला प्रशासन कार्यालय रोतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै