तराई टप संवाददाता
रौतहट, १ जेठ । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीमा शनिवार दिउसो तिन घरमा आगलागी भएर पूर्ण रुपमा ध्वस्त भएको छ भने एक घर आँशिक रुपमा क्षतिग्रस्त भएका छन् ।
दुर्गा भगवती गाउपालिकाको मत्सरीका गगनदेव महराको घरबाट सल्किएको आगो दाजुभाईहरु सतलाल महरा र बुधन महराको घर पूर्ण रुपमा ध्वस्त भएको छ । गगनदेव महराको छिमेकी महदेव महराको घर आँशिक रुपमा जलेको वडाध्यक्ष धर्मेन्द्रकुमार झाले बताए ।
गगनदेवको श्रीमतीले आज दिउसो २.३० बजेको समयमा नास्ता पकाउने क्रममा आगो सल्किदा आगलागी भएको बताइएको छ । आगलागी भएपछि स्थानीय बासिन्दाहरु आगो माथि नियन्त्रण गर्ने प्रयास सुरु गरेकै क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित गौरबाट आएको दमकलको मद्दतबाट आगो माथि नियन्त्रण गरिएको वडाध्यक्ष झाले जानकरी दिए ।
मानविय क्षति नभएपनि घरमा रहेको अन्न, लत्ताकपडा, गरगहना, सहितको बहुमूल्य समानाहरु जलेर खरानी भएको हुँदा १० लाख भन्दा बढिको सम्पत्ती जलेर नष्ट भएको उनले भने । लकडाउनको समय भएको हुदा गाउँलेहरु सवै घरमै रहेको हुँदा मानविय क्षति हुन नदिएपनि भौतिक रुपमा क्षति हुनबाट जोगाउन नसकिएको उनले स्पष्ट पारे ।
वडा कार्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका गगनदेवको आगलागी भएपछि खुला आकाश मुनी बस्नुपर्ने अवस्था सृजना भएकोमा व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता वडाध्यक्ष झाले जनाए ।
गाउँपालिका अध्यक्ष अरुणकुमार साहले आगलागी भएको स्थलमा पुगेर भएको क्षतिको अध्ययन प्रहरीबाट गरिने नै छ, गाउँपालिकाबाट हुने सक्दो सहयोग गर्नुका साथ दलित परिवारलाई घर बनाउन आवश्यक मद्दत गर्ने स्पष्ट पारे ।
नेकपा माओवादीको युवा नेता शम्भु सिह सहत वडा नम्वर १ र ३ का अधिकाँश बासिन्दाहरु उपस्थित भई आगो माथि नियन्त्रण गर्नमा सहयोग पुर्याइएको वडा सदस्य कमलेश झाले बताए ।